निषेधाज्ञा कडाइ गर्ने प्रशासनको तयारी

बैशाख २०, दैलेख
कोरोना भाइरस संक्रमणबाट दैलेखमा ४७ वर्षे एक पुरुषको सोमबार मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–१२ का ४७ वर्षीय पुरुष रहेको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । पछिल्लो समयमा देखिएको कोरोना संक्रमणका कारण दैलेखमा चार जनाले ज्यान गुमाइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
एक महिना अघि भारतबाट जन्मघर आएका पुरुष सुगरका बिरामी थिए, आइतबार दुल्लुमा एन्टिजेनमार्फत कोरोना चेक गर्दा पोजेटिभ देखिएपछि उनलाई थप उपचारको लागि दैलेख अस्पताल ल्याइएको थियो । सदरमुकामको आइसुलेसन अस्पतालमा ४ घण्टासम्म उनको उपचार गरिएको थियो, कोरोना संक्रमण सँगै मानसिक सन्तुलन गुमाइसकेको आशंका भएपछि दैलेखबाट उनलाई सुर्खेत उपचारका लागि भनिएको थियो, अक्सिजन मास्क लगाउन नदिने, थुतेर फालिदिने गर्न थालेपछि अन्य तीनजनाको सहायता लिनुपर्ने अवस्था थियो । परिवारले सुर्खेत लिनुभन्दा घरमै लिन्छौ भन्दै घर लगेको स्वास्थ्य सेवा कार्यालयका डा.जगत् थापाले जानकारी दिएका छन् । सोमबारसम्म दैलेखमा सक्रिए संक्रमितको संख्या १ सय ६३ जना पुगिसकेको छ ।
मंगलवार रातिबाट एक हप्ताको लागि लागु गरिने निषेधाज्ञा कडाइका साथ लागु हुने भएकोले सबै नागरिकहरुलाई घरभित्रै बस्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।
निषेधाज्ञाको अवधिमा कसैले पनि घरबाट बाहिर निस्कन नहुने, बिरामी परेको अवस्थामा जिल्ला स्वास्थ्य, जिल्ला प्रहरी वा सम्वन्धित निकायलाई फोन गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ । पहिला ल्याएर राखिएको सामानको मुल्या बढाउने र कालोबजार गरेको पइएमा तत्काल कारवाही गर्ने चेतावनी दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । खाद्यान्न बस्तुको सहज आपूर्ति गर्न, एम्बुलेन्स र बिरामीहरूको उचित व्यवस्थापन गरिने भएको छ । पत्रकार, कुटनीतिक नियोग लगायतलाई सहज व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । मध्य पहाडी राजमार्ग लगायतका विकास निर्माणका कामहरू भने सामाजिक दुरी कायम गरेर निर्विवाद ढङ्गले सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार